प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्नेछ: अध्यक्ष दाहाल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताउनुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनलाई सामान्यरुपमा लिन नहुने बताउनुभयो ।

निर्वाचनमा प्रष्टरुपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उहाँले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान हुँदै अगाडि बढेको नेपालको राजनीतिक परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि गठबन्धन अत्यावश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन । यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने कुरा हो ।”

अध्यक्ष दाहालले वाम लोकतान्त्रिक गठबन्धन परिवर्तनको पक्षमा तथा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खडा भएको र अर्को गठबन्धन जनविरोधी र प्रतिगमनका पक्षधर रहेको आरोप लगाउनुभयो ।

उहाँले विपक्षी गठबन्धनले तालमेल भने पनि खासमा त्यो गठबन्धन नै रहेको भन्दै त्यहाँ रहेका अनुहार र प्रवृत्ति कस्ता छन् भन्ने कुरा पनि स्पष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो “अर्को गठबन्धन र हाम्रो गठबन्धन कस्तो छ भन्ने कुरा प्रष्ट छ । संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेशी समानुपातिक मान्यतासहित सङ्घीयताको रक्षा गर्ने प्रष्ट उद्देश्य छ । हामीले गठबन्धन बनाउँदै गर्दा प्रष्ट नै गरेका थियौ । त्यसमा हामी प्रतिवद्ध छौ ।”

संविधान, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियताको रक्षा गर्ने पुनित उद्देश्यका साथ गठबन्धन बनाइएको उहाँको भनाइ छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समावेशी र समानुपातिक मान्यतासहित स्थापना भएको लोकतन्त्रको सम्वद्र्धनका लागि पनि आफुहरुको गठबन्धनले जित हासिल गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।

उहाँले सत्तारुढ गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताले कुनै दुविधा नराखी एक अर्काको निर्वाचन चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । “नेपाली कांग्रेस र कम्युनिस्ट नमिलेको भए पञ्चायती निरंकुशता ढल्ने थिएन । हामीले देखे भोगेको र सहभागी भएकै हो”, उहाँले भन्नुभयो “कांग्रेस र कम्युनिस्ट मिलेर नै विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि औपचारिक प्रक्रिया शुरु भएको हो । यो सामूहिक निर्णयका रुपमा आएको हो । जुन दिन शान्ति सम्झौतामा हस्ताक्षर गरियो त्यही दिन, रुख र हसिया हथौडामा एक अर्काले छाप लगाएको हो ।”

तत्कालीन सात राजनीतिक दल र माओवादी एक आपसमा नमिलेको भए देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जान्थ्यो र ? भन्ने प्रश्न उहाँले गर्नुभयो ।

उहाँले निरंकुशतालाई पराजित गर्ने उद्देश्यका साथ गठन भएको गठबन्धनले स्थानीय तहको निर्वाचनमा चोटिलो प्रहार गरेको तथ्य स्मरण गराउनुभयो । उहाँले कुनै पनि हिन भावना नराखी एक अर्का दलले गठबन्धनका उम्मेदवारलाई खुसी भएर मतदान गर्न आग्रह गर्नुभयो ।

आफू राष्ट्रको पक्षमा दह्रोरुपमा उभिएर संविधान जारी गर्न सफल भएको तथ्य पेश गर्दै उहाँले यसपटकको निर्वाचनलाई पनि पूर्णरुपमा सफल बनाउन र एकढिक्का भएर जनतालाई विजयी गराउनुपर्ने बताउनुभयो । निर्वाचन सफल भएपछि गठन हुने गठबन्धनको सरकारले आर्थिक विकासको प्रक्रिया अगाडि बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...