एमालेबाट मधेस प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार नेत्री महतो नेपाली कांग्रेसमा

नेकपा (एमाले)बाट मधेस प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेत्री फूलकुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । महतो अखिल महिला सङ्घको सचिवालय सदस्यसमेत हुनुहुन्छ ।

महतोलाई कांग्रेसका सहमहामन्त्री, पूर्वमन्त्री तथा धनुषा नम्बर–४ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा प्रवेश गराउनुभएको छ । सो अवसरमा महतोले भने मधेसको पक्षधर, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी कांग्रेस रहेको महसुस गर्दै आफू कांग्रेसमा प्रवेश गरेको बताउनुभयो ।

जनताको सुखदुःखमा साथ रहनु नै एउटा सच्चा नेताको जिम्मेवारी हुने भन्दै उहाँले त्यो प्रमाणित गर्न पनि आफू मधेसको पक्षमा उभिँदै कांग्रेसमा प्रवेश गरेको बताउनुभयो । “मुलुकमा सबैभन्दा बढी नागरिकताविहीन मधेसमै छन् र अहिले मधेसको मुख्य मुद्दा पनि नागरिकता नै हो”, महतोले भन्नुभयो । कांग्रेस सहमहामन्त्री यादवले महतोलाई कांग्रेसमा प्रवेश गरेकामा बधाई दिँदै मधेसका मुद्दालाई थप सशक्त ढङ्गले उठाइने प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...