पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडानमा ढिलाइ, डाँडो बन्यो बाधक

विमानस्थल सञ्चालनअघि विमानस्थलको पूर्वी सिमानाबाट १.३५ किलोमिटरको दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर काट्नुपर्ने हुन्छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई सुरक्षाका लागि विमानस्थल छेउको सो डाँडा कटान गर्नैपर्ने हुन्छ। प्राविधिक अध्ययनले पनि सोही निष्कर्ष निकालेको थियो।

पोखरा। निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो। पूर्व–पश्चिम दिशामा रहेको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ सय मिटर चौडाइ रहेको धावनमार्गको सामुन्नेमा सो डाँडा पर्छ।

विमानस्थल सञ्चालनअघि विमानस्थलको पूर्वी सिमानाबाट १.३५ किलोमिटरको दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर काट्नुपर्ने हुन्छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई सुरक्षाका लागि विमानस्थल छेउको सो डाँडा कटान गर्नैपर्ने हुन्छ। प्राविधिक अध्ययनले पनि सोही निष्कर्ष निकालेको थियो। उनले भने, “डाँडापछाडिको ४० मिटर र अगाडिको १२ मिटर काट्नुपर्ने भए पनि १४ मिटर डाँडा काट्नेबित्तिकै परीक्षण उडान सुरु हुनेछ।” डाँडा काट्नका लागि कम्पनी छनोटको प्रक्रिया टुङ्गिएको छैन।

विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले चाइना सीएएमसी इन्जिनियरिङले विमानस्थलको ९८.५ प्रतिशत भौतिक काम सकिसकेको र अब परीक्षण उडानलगायतका स–साना काम मात्रै बाँकी रहेको बताए। विमानस्थलको वित्तीय प्रगति ७९ प्रतिशत पूरा भइसकेको छ। विमानस्थल सञ्चालनमा ल्याउन विमानस्थलको छेवैमा रहेको ल्यान्डफिल साइटले हवाई सुरक्षामा जोखिम भने कायमै देखिन्छ। नयाँ विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक उडानसमेत यही विमानस्थलबाट हुनेछ।

हवाई सुरक्षा मापदण्डमा विमानस्थलको १२ देखि १४ किलोमिटर क्षेत्र नजिक ल्यान्डफिल साइट र तीन किलोमिटरभित्र पशु वधशाला हुन नहुने व्यवस्था भए पनि पोखरा महानगरपालिकाले उक्त क्षेत्र सार्न खासै तदारुकता देखाएको छैन।

आयोजना प्रमुख मुनकर्मीले पोखरा महानगरपालिकाले विमानस्थल सञ्चालनअगावै ल्यान्डफिल साइट हटाउने प्रतिबद्धता जनाए पनि सम्भावित क्षेत्रको खोजीबाहेक कुनै काम अघि नबढाएको गुनासो गरे। एक वर्षअघि नै महानगरले पोखरा–१६ र २० को सिमानामा फोहोरमैला व्यवस्थापन स्थल बनाउने निर्णय गरेको थियो। सो निर्णयलगत्तै स्थानीयको विरोध सुरु भएपछि महानगर पछि हट्नु परेको थियो।

त्यसपछि गत वैशाखमा महानगरले पोखरा–३३ भरतपोखरीमा ल्यान्डफिल बनाउने निर्णय गरेको थियो। भरतपोखरीमा पूर्वाधारका लागि महानगरले १० करोड रुपैयाँ विनियोजन गरे पनि त्यहाँ पनि स्थानीयले विरोध जनाएका थिए।

पोखरा विमानस्थल निर्माण परियोजना गत २०७४ कात्तिकदेखि निर्माण सुरु भएको थियो। यस विमानस्थलमा दुई सय सिट क्षमता भएका विमान अवतरण गर्न सक्नेछन् भने ११ वटासम्म विमान पार्किङ गर्न सकिनेछ। विमानस्थलमा टर्मिनलसहित नौवटा भवन छन्। विमानस्थल सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता भए पनि कोरोना सङ्क्रमणका कारण म्याद थपिएको थियो। दुई सय हेक्टर क्षेत्रफलमा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा अन्तर्राष्ट्रियस्तर गन्तव्यसँग सिधा जोडिनेछ। झन्डै २२ अर्ब रुपियाँ लागतमा निर्माण भएको यो विमानस्थल बनाउन नेपाल सरकारले चीनको एक्जिम बैङ्कबाट ऋण लिएको हो। – गोरखापत्र दैनिकबाट

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...