ताप्लेजुङमा आचारसंहिता उल्लङ्घन बढ्दै

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङमा निर्वाचन आचारसंहिता उल्लङ्घनको घटना बढ्दै गएको छ । गत स्थानीय तह निर्वाचनको तुलनामा यस पटक निर्वाचन आचारसंहिता उल्लङ्घनको घटना बढेको पाइएको हो ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधवारसम्ममा उम्मेदवारदेखि सञ्चारमाध्यम समेतलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेको छ । कार्यालयको तथ्याङ्कअनुसार गठबन्धन सम्बद्ध दलअन्तर्गत नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले नेकपा एमालेका उम्मेदवारविरुद्ध र एमालेले गठबन्धनका उम्मेदवारविरुद्ध उजुरी दिएका छन् ।

प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी कार्यक्रममा आचारसंहिता विपरीतका क्रियाकलाप गरेको भनी एक–अर्को दलले उजुरी दिएका छन् । तोकिएको आकारभन्दा ठुलो प्रचार ब्यानर, झन्डाजस्ता सामग्री प्रयोग गरिएको, विद्यालयमा आमसभा गरिएकोजस्ता उजुरीमा उल्लेख गरिएको छ ।

दलको चुनावी कार्यक्रमको प्रचार तथा गतिविधिमा सहयोग गरेको भनी केही सरकारी कर्मचारीविरुद्ध समेत उजुरी परेको छ । त्यस्तै कुनै उम्मेदवारको मात्र पक्षपोषण गर्ने खालको समाचार सामग्री प्रकाशन तथा प्रसारण गरेको भनी केही अनलाइन सञ्चारमाध्यमविरुद्ध पनि उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यता आचारसंहिता उल्लङ्घनको उजुरी परेपछि एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश कुमार भट्टराई, गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडा क्षेत्रीलाई स्पष्टीकरण सोधिएको सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले बताउनुभयो । त्यसै गरी गठबन्धनतर्फ काँग्रेसका प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २ का उम्मेदवार खगेनसिंह हाङ्गानाम र नेकपा (एकीकृत समाजवादी) का निर्वाचन क्षेत्र १ का उम्मेदवार खेमबहादुर वनेमलाई पनि स्पष्टीकरण सोधिएको रेग्मीले जानकारी दिनुभयो ।

दलका उम्मेदवारहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ प्राप्त भएको र स्पष्टीकरणमाथि अनुसन्धान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उता निर्वाचन आचारसंहितालाई कार्यान्वयन गर्न गराउनका निम्ति राजनीतिक दल र उम्मेदवारलाई निरन्तर सचेत गराइरहेकोसमेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...