बेद बहादुर गुरुङ (श्याम) :आफ्नै घरमा विद्रोह गरे,राजा विरुद्ध लड्दा जेलनेल भोगे

पोखरा, ।आँखैमा ठोकिने अन्नपूर्ण हिमशृंखला । गाउँको तल अविराल बगिरहने मादी । पूर्वतर्फ बडेमानको पलेंची अनि पश्चिमतर्फ झिजेेंं डाँडा जसको कारण ताङतिङमा ढिलो घाम लाग्छ अनि दिउँसै डुब्छ । कास्कीको कर्णाली अर्थात् उत्तर– पूर्वी भेग जहाँ केहि दशक अघिसम्म मोटरबाटो पुगेको थिएन । टेलिफोन सुविधा थिएन । कास्कीकै अत्यन्त विकट मानिने यस गाउँबाट पोखरा पुग्न पुरै दिन लाग्थ्यो ।

२० को दशकको अन्ततिर त्यसै गाउँमा बेद बहादुर गुरुङ जन्मिए । पोखरादेखि जम्मा २७ किलो मिटर मात्र भएतापनि गाउँ र विकासको दुरी कयौं माइल टाढा थियो । गाउँमा अभाव थियो । अस्पताल थिएन । राम्रो स्कुल थिएन । त्यस्तो विकट भूगोल जन्मिएको युवाको सपनाको आकार शायदै ठुलो हुन्छ । तिनै युवाहरुको भिडमा बेद बहादुर अर्थात् श्याम गुरुङ पनि एक थियो । ‘जुन भूगोलमा घाम नै १० बजेपछि लाग्छ अनि ३ नबज्दै घाम डुब्छ । त्यहाँका मान्छेले देख्ने सपना नै के ठुलो हुन्थ्यो र ! ’ बेद बहादुर सम्झिन्छन् ।

 

अन्याय, अत्याचार, शोषण, दमन, अभाव अनि असमानताले विद्रोह जन्माउँछ । समयको रोटेपिङ घुम्दै जाँदा तत्कालिन पञ्चायतको घोचाईले बेद बहादुरको दिमागमा विद्रोहको चेत भरिदियो । दौतारीहरु लाहुरे भएर गए तर बेद बहादुरलाई लाहुर जान मन लागेन । बरु मार्क्स–एंगेल्सद्वारा लिखित घोषणापत्रले तान्न थाल्यो उनलाई । विकट भूगोलमा जन्मेका उनलाई मुक्तिको सपना देख्न थाले । फलस्वरूप आठ कक्षा पढ्दा पढ्दै वि.स. २०४५ सालमा अखिलमा आवद्ध भए । ०४६ को आन्दोलनमा भाग लिए । पञ्चायत नै अन्याय, अत्याचार, शोषण, दमन, अभावको जड हो भन्ने कुरा बुझ्न थाले अनि पञ्चायत विरुद्ध भोकै लडे । त्यसपछि बल्ल उनले सपना देख्न थाले –‘मुलुकलाई सहि दिशामा लैजान राजनीतिमा होम्मिने ।’

 

बुबा टेकशाही गुरुङ र आमा काँबिरी गुरुङको कोखमा वि.स. २०२७ साल जेठ २३ गते शुक्रवार तत्कालिन नामर्जुङ गाविस वडा नम्वर ५ पण्डित टोल हालको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङमा जन्मेका थिए । उनका वुवाले देहरादुनमा अध्ययन गरेर फर्केपछि गाउँको हेडमास्टरको रुपमा काम गरेका थिए । सोही विद्यालयमा उनले प्राथमिक तहसम्म पढे ।

 

त्यसपछि करिव १ वर्ष दैनिक ४ घण्टा हिडेर नजिकको गाउँमा पढे । एस.एल.सी भने पोखरा स्थित अमरसिंह माविबाट उतिर्ण गरेका थिए । देशमा प्रजातन्त्र पुनस््थापना भएपछि वि.स. २०४८ सालमा उनका वुवा टेकशाही गुरुङ नेपाली कांग्रेसका तर्फबाट तत्कालिन नामर्जुङ गाविसका अध्यक्ष बने । पारिवारिक पृष्ठभूमि कांग्रेस भएका बेद बहादुरले सुरुमा घरबाटै विद्रोह गरे । कम्युनिष्टका झण्डा बोकेर हिडे । गाउँ गाउँमा कम्युनिष्टका पर्चा बाँड्न थाले । वुवा मात्र नभई उनका काका मेजर दिपक गुरुङ पनि कांग्रेसका पूर्वसांसद थिए ।

 

बालक अवस्थादेखि नै चनाखो, तीक्ष्ण, अध्ययनशील, निडर, फरासिला स्वाभावका बेद बहादुर कम्युनिष्ट विचारधाराबाट निकै प्रभावित भए । त्यसपछि उनी कम्युनिष्ट आन्दोलनमा होम्मिए । उनी वि.स.२०४५ सालमा अनेरास्ववियु एकताको पाँचौ प्रारम्भिक कमिटी सदस्य थिए । त्यसपछि वि.स.२०४६ देखि ४८ सम्म अनेरास्ववियु कास्की जिल्ला कमिटीको सदस्यको रुपमा काम गरे ।

 

वि.स.२०४८ मा प्ररायु संघ कास्की जिल्ला कमिटीको सदस्य भए । वि.स.२०५२ मा नेकपा एमाले कास्की जिल्ला ईलाका नं ५ को उपसचिव भएर आफ्नो जिम्मेवारी पुरा गरे । युद्धकालिन समयमा पनि उनले पार्टीको लागि सक्रिय राजनीति गरेका थिए । पार्टीमा इमान्दार, निडर र कुशल संगठकको रुप परिचित छन् । पञ्चायतविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका बेद बहादुरले वि.स.२०५८ सालमा नेकपा एमाले कास्की जिल्ला ईलाका नं ५ को सचिवको रुपमा काम गरे ।

 

वि.स. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले राजनैतिक ‘कु’ गरेर निरंकुश शासनको सुरुवात गरे । सम्पूर्ण राजकीय अधिकार आफ्नो हातमा लिई राजनीतिक सहमतिका आधारमा बनेको सरकारलाई अपदस्थ गरे । जनताका मौलिक अधिकार निलम्वन गरे । राजाको यस कदमबाट असह्य भएपछि सम्पुर्ण राजनैतिक दलका नेता अनि जनता सडकमा निस्किए । त्यो हुलमा उनी पनि थिए । ०६२÷०६३ सालको आन्दोलनमा उनले अग्रणी भूमिका नै खेले । प्रहरीको लाठ्ठीले घाइते भए ।

 

प्रहरीले फालेको दर्जनौं सेल अश्रु ग्यासको प्रहार थेगे । ०६२÷०६३ सालको आन्दोलनमा उनी २१ दिन हिरासतमा विताएका थिए ।उनी वि.स.२०६४ मा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य बने । त्यसपछि क्रमशः २०६६ मा नेकपा एमाले कास्की जिल्ला सचिवालय सदस्य, बि.स.२०६७ मा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद निर्वाचित सदस्य र बि.स.२०६८ देखि नेकपा एमाले गण्डकी अञ्चल कमिटी सदस्य बनेका थिए ।

 

वि.स. २०७४ पछि नेकपा गण्डकी प्रदेश कमिटी सदस्यको रुपमा काम गरे भने वि.स. २०७८ मा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बने । उनले नेपाल लोकतान्त्रिक तमु संघको संस्थापक संयोजक र संस्थापक महासचिवको रुपमा काम गरिसकेका छन् भने संस्थाको वर्तमान अध्यक्ष पनि हुन् ।उनी मादी गाउँपालिकाको संस्थापक अध्यक्ष पनि हुन् । वि.स. २०७४ सालको निर्वाचनमा भारी मतान्तर सहित विजयी भएका थिए । आफ्नो कार्यकालमा त्यस क्षेत्रका सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गरेका छन् ।

 

कलाकारिता जीवन

उनलाई कुशल राजनीतिककर्मी मात्र नभई कलाकारको दृष्टिकोणबाट पनि चिन्ने गर्छन् । राजनीतिसँगै लामो समय कलाकारितामा लागेका बेद बहादुर गुरुङ ‘श्याम’ले थुप्रै गुरुङ सिनेमामा अभिनय र निर्देशन गरेका छन् । विशुद्ध गुरुङ सिनेमा बनाएर गुरुङहरुको संस्कार संस्कृति जोगाउन योगदान पुर्याएका छन् । सिनेमा मात्र नभई गुरुङ संस्कार संस्कृति माथि लेख, रचना, गीत संगीत सिर्जना गरेका छन् ।

 

वि.स.२०५२ सालमा बनेको गुरुङ चलचित्र कुहिरो भित्रबाट अभिनय सुरु गरेका थिए । त्यसपछि गोठालोमा अभिनय गरे । गोठालोमा समावेश गरेको आशामारा चुरोट बोलको गीतमा नृत्य गरे जुन चर्चित गायक युक्त गुरुङले गाएका थिए ।त्यसपछि उनको कलाकारिताको चौतर्फी गुनगान हुन थाल्यो । पछि आफ्नै निर्देशनमा हाम्रो गाउँ घर नामक गुरुङ चलचित निर्माण गरे । उनले दर्जनौँ चलचित्र निर्माण गरेका छन् । त्यसकै कारण उनी निकै लोकप्रिय छन् ।

उनले गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था जिफान अर्थात गुरुङ फिल्म एसोसियसनमा अध्यक्ष रुपमा काम गरेर समेत आफ्नो भाषा, संस्कार अनि संस्कृति जोगाउन योगदान दिएका छन् । उनी जिफानमा दुई कार्यकाल अध्यक्षका जिम्मेवारी बहन गरिसकेका छन् ।

आसन्न निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट उनी चुनावी मैदानमा छन् । कास्की १ ख बाट प्रदेश सभा सदस्यको लागि उम्मेद्वारी दिएका बेद बहादुर ५ वर्षे योजना सुनाउन अहिले मतदाता भेट्न घरदैलोमा व्यस्त छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...