रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै किसान

भरतपुर, १४ मङ्सिर : चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयका कार्यक्रमसमेत यहाँ सञ्चालन भए । तर अहिले रोगका कारण यहाँ सुन्तलाका बोट मरेर सखाप भएका छन् । बर्सेनि उत्पादनमा ह्रास आएको छ ।

तामिन क्षेत्रभित्र ८० बिघा क्षेत्रफलमा लगाइएको सुन्तलाका बोट मर्दै गएर १० बिघामा मात्रै बाँकी छ । तामिन कृषि सहकारीका अध्यक्ष हरिबहादुर नेपालका अनुसार यहाँ ७० प्रतिशत सुन्तलाका बोट मरेर सखाप भएका छन् । उहाँले २०७५ सालदेखि सुन्तलाको बोटमा रोग देखा पर्न थालेको बताउनुभयो । विसं २०५० देखि यहाँका किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका हुन् ।

“विसं २०५७ देखि व्यावसायिकरूपमा सुन्तला बिक्री गर्न थालेका हौँ”, उहाँले भन्नुभयो, २०७५ सालसम्म उत्पादन र आम्दानी बढेको थियो, त्यसपछि क्रमशः बोट मर्न थाले ।” एउटा याममै रु १२ लाखको सुन्तला बेच्नुभएका नेपाल आफ्नो बारीमा अहिले एउटा पनि बोट नरहेको बताउनुहुन्छ । तामिनमा अब दुई सुन्तलाका बगैँचा मात्रै बाँकी छन् । अन्य सबै सखाप भएका छन् ।

बोटमा टुप्पा सुक्ने र फेद कुहिने समस्या छ । एक हजार मिटरभन्दा तलको जमिनमा रहेका सुन्तलाको बोटमा यस्तो समस्या छ । तामिन सहकारीमा आवद्ध तामिन, ठङराङ, साठीमुरे, नेपेडाँडा, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले व्यावसायिकरूपमा सुन्तला खेती गर्दैआएका थिए । अहिले नेपेडाँडा र ठङराङका बगँैचामा मात्रै सुन्तलाका बोट बाँकी रहेको नेपालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले अनुदानमा दिएको सुन्तलाको बेर्नामा पनि ठूलो बोटमा जस्तै रोग देखापरेपछि यहाँका किसानले नयाँ बोट लगाउन छाडेका छन् । तामिनका कृषक रामप्रसाद बोहोराले सुन्तलाको बोटमा लागेको रोगका कारण किसान चिन्तित बनेको बताउनुभयो । “रोगले तामिनमा विगतका वर्षमा जस्तो सुन्तला नै छैन”, उहाँले भन्नुभयो । सुन्तलामा रोगले पात झर्दै गएका छन् । बोट सुक्दै गएका छन् ।

सुन्तला मासेर तरकारी खेती

तमिनका किसानले रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्न थालेका छन् । किसानले मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर बेच्न थालेको स्थानीय विश्वप्रकाश नेपालले बताउनुभयो । करिब ५० किसानले व्यावसायिक सुन्तला खेती गर्ने गरेकामा सबैले तरकारी लगाउन थालेको उहाँले जानकारी दिनुभयो ।

तरकारीको पकेट क्षेत्रसमेत सञ्चालन भएको उल्लेख गर्दै उहाँले कृषि ज्ञान केन्द्रबाट बीउ र कृषि औजारसमेत सहयोग प्राप्त भएको बताउनुभयो । यहाँ किसानले टमाटर, काँक्रो, करेला, सिमी व्यावसायिकरूपमा लगाएका छन् । साउनदेखि मङ्सिरसम्म यहाँ तरकारी उत्पादन राम्रो हुन्छ । दैनिक ३० देखि ५० क्विन्टल तरकारी बजार पठाउने गरेको नेपालले बताउनुभयो । उहाँका अनुसार तामिनमा उत्पादन भएको तरकारी सिधैँ मुग्लिन बजारमा लगेर बिक्री गर्ने गरिएको छ ।

फाइदा र सजिलो सुन्तला खेतीमै थियो । फल्न थालेपछि सुन्तलामा लगानी कम पर्छ । तरकारीको तुलनामा मेहेनत पनि कम हुन्छ । तरकारीमा प्रतिस्पर्धा धेरै छ । जोखिम बढी छ । तरकारीको तुलनामा फलफूलको उत्पादन र व्यापार स्थायित्व छ । उहाँले तामिनमा सिँचाइका लागि पानीको व्यवस्थापन हुन नसकेको बताउनुभयो । “पानीका स्रोत छन् तर किसानका बारीसम्म लैजाने व्यवस्था गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

इच्छाकामना गाउँपालिकाका निवर्तमान कृषि अधिकृत आनन्दराज घिमिरेले तामिनमा किसानले सुन्तलाको व्यवस्थापनको पक्षमा ध्यान नदिँदा समस्या आएको बताउनुभयो । उहाँले सुन्तलाको गोडमेल, काँटछाँट र मलजलमा ध्यान दिनुपर्ने भन्दै सुन्तलाको बोटको टुप्पा सुक्ने समस्या देशभर रहेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...