प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यवसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत

पोखराको अग्रणी विद्यालय प्रतिभा माविले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको विज्ञान प्रदर्शनी र ‘व्यवसायिक योजना’ कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ । गत कार्तिक २५ र २६ गते आयोजित कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट हुनेहरुलाई नगदसहित विद्यालयले विहीबार पुरस्कृत गरेको हो ।

विज्ञान संकायका विद्यार्थी सहभागी ‘विज्ञान प्रदर्शनी’ मा कक्षा १२ का आयुषा ढकाल र करुणा सुनारको स्मार्ट सिटी ‘प्रोजेक्ट ९९’ शीर्षकको प्रस्तुति सर्वोत्कृष्ट हुँदै नगद २० हजार जित्न सफल भयो । यस्तै, कक्षा ११ की नम्रता क्षेत्रीको ‘इन्डिकेटर डस्टविन’ प्रोजेक्ट दोस्रो बन्दै १५ हजार हात पारे ।

यसैगरी, कक्षा ११ की छात्राहरु स्नेहा गिरी, रश्मी तिमिल्सिना र सुस्मिता खत्रीको समूहले बनाएको ‘वाईफाई कार’ र कक्षा १२ का सबिन गुरुङ र सगुन गुरुङको ‘सोलार ट्रयाक्टर’ले तेस्रो स्थान प्राप्त गर्दै जनही नगद सात हजार पाँच सय, मेडल र प्रमाणपत्र हात पारे । विज्ञान प्रदर्शनीमा कक्षा ८ देखि १२ कक्षासम्मका ६२ टोलीले सहभागिता जनाएका थिए ।

व्यवस्थापन संकाय तर्फ सहभागी ‘व्यवसायिक योजना’ कार्यक्रममा ‘पिग फार्मिङ’ शीर्षकमा सहभागी कक्षा १२ का सम्पूर्ण पौडेल र सबिन थापा सर्वोत्कृष्ट बन्दै नगद १५ हजार जिते । उनीहरुले उक्त प्रोजेक्ट सञ्चालन गर्न चाहेमा बिऊ पुँजीका रुपमा विद्यालयले ५ लाख नगद सहयोग गर्नेछ ।

यस्तै, कक्षा ११ की छात्राहरु सुविक्षा मल्ल, रेनुमा खातुन र अञ्जली तामाङको ‘टेस्ट अफ नेपाल’ प्रस्तुति दोस्रो बन्दै नगद १० हजार प्राप्त गरेको छ । कक्षा १२ की छात्राहरु प्रतिमा भट्टराई र अस्मिता पोखरेलको ‘डिटर्जेन्ट कम्पनी’ शीर्षकको प्रस्तुति र कक्षा ११ की छात्राहरु पूर्णिमा पौडेल र सृष्टि शर्माकाे ‘विवाह योजना’ शीर्षकको प्रस्तुति तेस्रो बन्दै जनही ५ हजार नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत भयो ।

यी दुवै विधामा थप ५ टोलीलाई थर्ड रनरअप उपाधिसहित जनही २ हजारले पुरस्कृत पनि गरिएको थियो । यस्तै, सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो ।

विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार दशैंको लामो बिदाको समयमा विद्यार्थीहरुलाई कुनै गृहकार्यको बोझ नबोकाई सिर्जनशील बन्न विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन र व्यवस्थापन विषय पढेपछिको योजना बुन्न आह्वान गरिएको थियो । विद्यार्थीले बनाएका विभिन्न उपकरण तथा योजना उक्त प्रदर्शनीमा प्रस्तुत भएका थिए । विद्यार्थीले आफ्नै खर्चमा आवश्यक सामाग्री जुटाएका हुन् । सामान बनाएका हुन् ।

यसैबीच, विहीबारदेखि नै प्लस टुका विद्यार्थीहरुबीचको स्पोर्टस् मीट २०७९ शुभारम्भ गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. सरोज कोइरालले खेलकुद प्रशिक्षकहरु हेमन्त गुरुङ, राजेन्द्र पुन र कुमार किसानलाई बल हस्तान्तरण गरी स्पोर्टस् मीटको शुभारम्भ गरे ।

कार्यक्रममा प्रमुख अतिथि डा. कोइरालाले प्रतिभा माविको विविध क्रियाकलापले यस विद्यालय गण्डकी क्षेत्रकै अग्रणी विद्यालयका रुपमा स्थापित भएको बताए । क्याम्पसमा उत्कृष्ट पठनपाठन हुने भएकाले कक्षा १२ को समाप्तिपछि पृथ्वीनारायण क्याम्पसमै पढ्न पनि सकिने भन्दै उनले प्रतिभाका विद्यार्थीले राष्ट्रिय अन्तर्राष्ट्रिय शिक्षण संस्थाहरुमा उत्कृष्ट बन्दा खुशी लागेको उल्लेख गरे ।

बीबीएमा नाम निकाल्ने उत्कृष्ट २० मध्ये सर्वप्रथम हुनेदेखि सर्वाधिक १४ जना विद्यार्थी प्रतिभाकै रहेको निर्देशक किरण सापकोटाले जानकारी दिएका थिए । प्रतिभाका विद्यार्थी एमबीबीएस, ईञ्जिनियरिङ, वन विज्ञान, कृषि तथा काठमाण्डौ लगायतका विभिन्न विश्वविद्यालयमा सर्वोत्कृष्ट हुँदै छात्रवृत्तिमा निःशुल्क पढिरहेको पनि सापकोटाले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय भलिबल महिला टीमकी कप्तान अरुणा शाहीले विद्यार्थीहरु सैद्धान्तिक शिक्षासँगै खेल लगायत अतिरिक्त क्रियाकलपामा पनि अब्बल हुनुपर्ने बताइन् । शाहीलाई यसअघि विद्यालयले १ लाख नगदको वर्ष प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिसकेको छ ।

विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले कक्षागत उत्कृष्टतासँगै सिकेको ज्ञानलाई व्यवहारमै उतार्न यस्ता प्रदर्शनी तथा योजना प्रस्तुत कार्यक्रम फलदायी हुने बताए ।

वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत आयोजित स्पोर्टस् मीटमा छात्र/छात्रा बास्केटबल, छात्र/छात्रा भलिबल । छात्र फुटसल, सिंगल/डबल छात्र/छात्रा टेबलटेनिस र चेस खेल हुनेछन् । कक्षा ११ र १२ का विद्यार्थीहरुले अन्तरसदनात्मक रुपमा सहभागिता जनाउनेछन् ।

प्राचार्य विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक वीरसिंह बुढाले गरेका थिए । विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउन, बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । अरुणा शाहीसँगै सन्दिप लामिछानेलाई प्रतिभाले नगद एक लाखले सम्मान गरिसकेको छ । विद्यालयले मुलुकमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शुरती पाण्डेलाई समेत एकमुष्ठ डेढ लाख बढीले सम्मान गरिसकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...