सृजना कप भलिबल भाेलिदेखि, तयारी पूरा

पोखरा, फागुन १५ गते ।पोखरामा मंगलबारदेखि हुने सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

फागुन १६ देखि १९ सम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ १२ टिमले नाम टिपाएको प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए । टिमको यकिन संख्या तथा खेल तालिका सोमबारमात्र सार्वजनिक हुनेछ ।

सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा २०७३ सालदेखि सुरुआत भएको सृजना कपको यो पाँचौं संस्करण हो । प्रतियोगितामा विगतको तुलनामा सहभागी संख्या बढी भएकोले आयोजक पनि उत्साहित छ ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १/१ लाख, उपविजेतालाई ६०/६० हजार र तृतीय हुने विद्यालयलाई ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन् ।

 

प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउने छन् । गत वर्ष पोखराको भकुण्डेस्थित शान्ता माविले दोहोरो उपाधि जितेको थियो ।

प्रतियोगितामा १२ लाख ५० हजार आम्दानी हुने र ११ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । बचत भलिबल खेलको विकासको निम्ति कोष स्थापना गरिने तथा सृजना विकास केन्द्रद्वारा संचालित सृजना बालगृहमा सहयोग गरिने सिर्जना विकास केन्द्रका निवर्तमान अध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।

प्रतियोगिताको लागि दुवै संस्थाका कार्यसमितिका पदाधिकारी सम्मिलित व्यवस्थापन समिति गठन गरिएको प्रतियोगिता सहसंयोजकसमेत रहेका कास्की जिल्ला भलिबल संघ उपाध्यक्ष लेखनाथ लम्सालले बताए ।

 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ मूलनारा तथा ‘स्कुल स्कुलमा भलिबल’ यसको लक्ष्य छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...