फेवा महोत्सव सफल पार्ने प्रतिवद्धता

पोखरा, १७ चैत । यही चैत २९ गतेबाट सुरु हुने फेवा नब वर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् ।

आयोजक होटल संघ पोखरा नेपालले शुक्रबार महोत्सवका बारेमा सुझाव र सल्लाह लिन आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले सुरक्षाको विषय संवेदनशिल भएको भन्दै महोत्सवमा कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ सचेत रहनुपर्ने सुझाव राखे ।
यसैगरी महोत्सवकै समयमा रेष्टुरा र होटलमा खानबस्न तथा अन्य पर्यटकीय सेवामा के कस्तो छुट र सहुलियत छ भनी व्यवसायीले जिज्ञासा राखेका थिए ।
चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्म फेवा नव वर्ष महोत्सव हुँदै छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा ६ का अध्यक्ष विष्णुवहादुर भट्टराईले संघमा दर्ता नभएका होटलले महोत्सवको अवसरमा महंगो शुल्क अशुल्दा गलत सन्देश गएको अनुभव सुनाए । मुनाफा कम गरेर भए पनि यस्तो बेला उपभोक्तालाई छुट दिनसक्नुपर्ने सुझाव उनले राखे ।

 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फेवा महोत्सव एउटा ब्राण्डकै रुपमा स्थापित भइसकेको बताउँदै यसलाई अझै परिस्कृति र वृहत ब्राण्डिङ गरेर अगाडि बढ्नुपर्ने सुझाव राखे । सकेसम्म होटलहरुले कोठाको मूल्य पहिला नै सार्वजनिक गरेर प्रिबुकिङको सुविधा दिन सके राम्रो हुने सुझाव पनि उनले राखे । सामाजिक संजाल र अन्य डिजिटल माध्यमबाट प्रचारप्रशारको कामलाई तिव्रता दिनुपर्ने उनले बताए ।

 

सो अवसरमा बोल्दै संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले फेवा महोत्सव सबै पोखरेलीको महोत्सव भएको बताउँदै यसको सफलताका लागि सम्पूर्ण पोखरेलीले हातेमालो गरी अगाडि बढ्नुपर्ने आबश्यकता औंल्याए । संघ अन्तर्गतका होटलहरुले कोठाको मुल्यमा विगतमा जस्तै प्रकाशित दररेटमा २० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी पनि उनले गराए ।

 

 

कार्यक्रममा सुझाव राख्दै टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले फेवा महोत्सवले पोखराको ब्राण्डिङमा सघाउ पुगेको बताए । नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पोखरामा पर्यटकको बसाई लम्ब्याउनेतर्फ जोड दिनुपर्ने बताउँदै कनेक्टिभिटीको पाटोलाई ध्यान दिन सुझाव राखे ।

 

 

आयोजक संघका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक गणेशराज पहारीले लेकसाइड क्षेत्रलाई साँझको समयमा स्थायी रुपमा उज्यालो बनाउन वडाले पहल अगाडि बढाउनुपर्ने र यसमा व्यवसायीको सहयोग रहने भनाई राखे । पार्किङ व्यवस्थित गर्न, डिजिटल बोर्डमा सांस्कृति कार्यक्रम देखाउन, होटलको प्याकेज ल्याउन, लेकसाइड झलमल पार्न, ठाउँठाउँमा सेल्फि बोर्ड राख्न, खानाको मूल्य र हाइजिनमा ध्यान दिन पनि सो अवसरमा सुझाव राखियो ।

 

कार्यक्रममा पोखरा पर्यटन परिषद्का सचिव हरि भुजेल, नेपाल पर्वतारोहण संघ गण्डकीका सदस्य शेषकान्त शर्मा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकीका अध्यक्ष उदय सुवेदी, महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष उमा रेग्मी भण्डारी, नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष बाबुराम पाण्डे, परिषद्का सदस्य जीवनराज सापकोटा, पर्यटन व्यवसायी महिला संघ नेपालकी महासचिव अनिता खड्का भट्टराई, व्यवसायी वलराम गिरी लगायतले भनाई राखेका थिए ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...