पोखरामा चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर

पोखरा, चैत २२ गते । पोखरामा विहिबार चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो हुने भएको छ । सभागृह स्थित मिडटाउन सिनेमाजमा साँझ ६ बजे ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो हुन लागेको हो । शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘बहाव’ को रेडकार्पेट शो मा कलाकारहरु सुरक्षा पन्त, कमलमणी नेपाल, निर्देशक प्रमोद कँडेल र निर्माता श्रीधर पौडेल आउने भएका छन् ।

रेडकार्पेट शो को आयोजना प्रचार र स्पेक्स फोर्टीनले गरेको हो । सह—आयोजना चलचित्र पत्रकार संघ कास्कीको रहेको छ । पोखरामा हुने रेडकार्पेट शो को सम्पूर्ण तयारी पूरा भएको प्रचारका संचालक आशिष पुरीले जानकारी गराए ।

 

 

उनका अनुसार रेडकार्पेट शो मा राजनीतिज्ञ,कलाकार,पत्रकार,व्यवसायीहरु, प्रहरी र पोखराका विभिन्न संघसंस्थाको सहभागिता रहनेछ ।काठमाडौंको प्रिमियर शो पछि पोखरामा बहावको पहिलो पटक रेडकार्पेट शो गर्न लागिएको स्पेक्स फोर्टीनका संचालक महेश्वर सिङ भण्डारीले बताए । रेडकार्पेट शोलाई सफल पार्न सबैको सहयोग मिल्नेमा उनी आशावादी छन् ।

 

पारिवारिक कथामा निर्माण भएको फिल्म ‘बहाव’मा अभिनेत्री सुरक्षा पन्त र सक्किगोनी सिरियलका कलाकार कमलमणि नेपाल मुख्य भुमिकामा रहेका छन्। अहिले यहि जोडी लिएर फिल्मका निर्माता श्रीधर पौडेल प्रचार प्रसारका लागि दौडधुपमा छन् । श्रीधर पौडेल नेपालका चर्चित फोटो पत्रकार समेत हुन्। उनले यस अघि फिल्म ‘गोपी’ निर्माण गरेका थिए।उनै निर्माता पौडेलले पोखरा जन्मथलो भएकाले रेडकार्पेट शो गर्न लागिएको बताए । उनी फिल्म चल्नेमा आशावादी देखिन्छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...