वर्ष उत्कृष्ट खेलाडी बन्न करण, गंगा र प्रदीपबीच प्रतिष्पर्धा

पोखरा, बैशाख २० गते।सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलाडीमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् ।

केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् । उनीहरु तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधा तर्फको अवार्ड कसले चुम्ला आआफ्नै अड्कलबाजी हुन थालेको छ ।

 

 

बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा यो उपाधि हात पार्ने खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

 

 

यस अगाडि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसायली र टेनिसका प्रदीप खड्का रहेको महासचिव पौडेलले खुलाए ।

 

 

अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति सहित विभिन्न १३ वटा उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको मञ्चले जनाएको छ ।

 

करण केसीक्रिकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य करण केसीको जन्म २०४८ साल असोज २४ गते बागलुङमा भएको हो । उनी क्रिकेटका अलराउण्डर खेलाडी हुन् । राट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेलमा खेलेका छन् उनले त्यस अवधिमा ३ सय १४ रन बनाए ।

 

यसैगरी टि२०मा ४३ खेल खेल्दै २ सय ८९ रन बनाएका छन् । बलिङतर्फ एक दिवसीय क्रिकेट प्रतियोगितामा ४० खेल खेल्दै ६१ विकेट लिएका उनले टि२० मा ४३ खेल खेल्दै ६० विकेट लिइसकेका छन् ।

 

 

करणले नेपाललाई आइसिसी विश्वकप लिग२ मा शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चारवर्षसम्मलाई ओडिआई मान्यता जोगाउन सानदार प्रदर्शन गरेका थिए ।

 

 

नेपालका तीव्र गतिका बलर करण केसीले लिग२ मा सानदार प्रदर्शन गर्नेक्रममा ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए ।
उनले तीन पटक चार विकेट लिएका थिए । गतवर्ष ओमानविरुद्ध दुबै खेलमा पाँचपाँच विकेट लिएका थिए । त्यस्तै २०२० मा ओमान र अमेरिकाविरुद्ध टियु मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए । उनी समग्र लिग२ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा छन् ।

 

केसी भ्यालेन्टाइन ब्वाईका रुपमा समेत चर्चित छन् । आइसिसी विश्वकप लिग२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका थिए । करण ओडिआई क्रिकेटमा पाँच विकेट तीन पटक लिने नेपाली पहिलो खेलाडी हुन् । आफ्नो जन्मदिन भन्दापनि फेब्रुअरी १४ को दिन बढी खुशी लाग्ने गरेको उनी बताउँछन् ।

 

 

उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटबाट स्वर्ण पदक जित्न सफल भए । यसका अलावा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्समेन चुनिए । ५ खेलमा ३४ ओभर बलिङ गर्दै १ सय २२ रन खर्चेर १३ विकेट लिएका करणले सेमिफाइनल खेलमा ६ विकेट लिए ।

 

गंगाबहादुर कुँवर –आर्चरी

गंगाबहादुर कुँवर आर्चरीका खेलाडी हुन् । स्याङजा जिल्लामा जन्मेका उनको बसोबास तनहुँको भीमाद–६ मा रहेको छ । बाबु रेशम बहादुर कुँवर र आमा मनसुब्बा कुँवरका छोराका रुपमा २०३९ साल साउन २१ गते उनको जन्म भएको हो ।

 

भारतीय सेनामा कार्यरत उनले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन स्वर्ण पदक जित्न सफल भए । उनले व्यक्तिगत रिकर्भ, रिकर्भ पुरुष टोली र रिकर्भ मिक्स टीममा स्वर्ण पदक जित्न सफल भएका हुन् । आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको थियो ।

 

यसअगाडि उनले पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रिकर्भ व्यक्तिगत तर्फ कांस्य पदक र रिकर्भ पुरुष टोलीमा स्वर्ण पदक जितेका थिए ।

 

 

त्यसै गरी सुदूरपश्चिममाञ्चलमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत रिकर्भ रजत पदक, रिकर्भ मिक्स टीममा रजत पदक र रिकर्भ पुरुष टोली स्वर्ण पदक जितेका थिए ।

प्रदीप खड्का टेनिस

टेनिसमा नेपालका नम्बर१ खेलाडी हुन्प्रदीप खड्का । टेनिसमै १५ वर्षको करियर पूरा गरेका प्रदीपको खेल जीवन सुरुआत २०६५ सालदेखि भएको हो ।

 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ स्वर्ण पदक जिन्न सफल खेलाडी हुन् । उनले मेन्स सिंगल, मेन्स डबल र टिम इभेन्टमा स्वर्ण पदक जिते । उनी ८ औं सिटिजन बैंक ओपन टेनिस प्रतियोगिताको मेन्स सिंगल र मिक्स डबलका विजेता खेलाडी समेत हुन् ।

 

दोस्रो बीर गणेशमान सिंह नेसनल ओपन प्रतियोगितामा मेन्स सिंगल तर्फको विजेता र मेन्स डबल तर्फ उपविजेता बन्न पुगे । उनले यो वर्ष १९ औं माछापुच्छे बैंक ओपन एण्ड भेटान्स टेनिस प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल तर्फ उपाधी जित्न सफल भए ।

 

भारतको सिल्गुडीमा भएको सिल्गुडी प्रतियोगिताको मेन्स सिंगलमा उपबिजेता र मेन्स डबलमा बिजेता बने । फागुनमा भएको ५ औं बुटबल ओपन एण्ड पहिलो मयुर कप टेनिस प्रतियोगितमा मेन्स सिंगलमा विजेता र मेन्स डबलमा उपविजेता बने ।

 

पोखरा ५, प्रस्याङमा जन्मेका खड्काले पोखराकै बाराही माविबाट २०७२ सालको एसएलसी पूरा गरेका हुन् । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जितेका थिए ।

 

त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल नै हात पारेका थिए । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल भएका थिए ।

 

कार्यक्रममा वर्ष खेलाडी पुरुष सहित वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कुल सातवटा विधामा अवार्ड प्रदान गरिनेछ ।

 

 

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।

 

 

यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

 

वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।

 

 

 

अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहने समेत मञ्चले जनाएको छ ।

 

 

यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायतले अवार्ड कार्यक्रममा थप रौनकता थप्नेछ ।

 

 

प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ ।अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...