पोखरा, जेठ ९ गते । फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई पोखरा महानगरपालिका वडा नम्वर १५ ले छात्रबृत्ति वापतको एकमुष्ठ रकम हस्तान्तरण गरेको छ । वडा कार्यालयले विद्यार्थीका लागि १ लाख छात्रवृत्तिका लागि प्रदान गरेको छ ।
विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वितरण गर्न वडाले उक्त रकम बराबरको चेक मंगलबार हस्तान्तरण गरेको हो ।पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा वडा नं. १५ अध्यक्ष तोरणबहादुर बानियाँले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेबहादुर आले र विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालालाई चेक हस्तान्तरण गर्नुभयो ।
उपमेयर गुरुङले पोखरालाई शिक्षाको हब बनाउने योजना अनुसार पूर्वाधारपछि धेरै बजेट विनियोन गरेको बताउनुभयो । महानगरले शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ उहाँले भन्नुभयो, ‘पोखरालाई शिक्षाको हब बनाउने महानगरको योजना अनुसार दोस्रो बढी बजेट शिक्षामै छ । करिब डेढ अर्ब छुट्याइएको छ ।’
उहाँले विद्यालय आउन नसक्ने बालबालिकालाई छात्रबृत्ति प्रदान गर्ने वडाको कार्य प्रशंसनिय भएको बताउनुभयो । उहाँले विद्यालयमा बालमैत्री वातावरण सृजना हुनुपर्ने बताउदै विद्यार्थी, अभिभाबक दुबैले शिक्षा आर्जनमा ध्यान केन्द्रीयत गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षा र खेलकुद क्षेत्रमा विशेष चासो दिँदै वडाले कार्य गरिरहेकोमा उहाँले खुशी ब्यक्त गर्नुभयो ।
वडाध्यक्ष तोरणबहादुर बानियाँले बाटोघाटो बनाएर मात्र विकास भएको नमानिने बताउँदै शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा अघि बढेमात्र समाज विकसित रहने बताउनुभयो । उहाँले पोखरा १५ बस्ने कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगराउने प्रतिबद्धता जनाउँदै गरीबिकै कारण पढ्न नपाउने बालबालिका छन् भने वडामा सम्पर्क गरिदिन पनि आग्रह गर्नुृभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आले, प्रधानाध्यापक गुरुदत्त कोइराला, सहायक प्रधानाध्यापक जुना थापालगायतले विद्यालयका तर्फबाट वडालाई धन्यवाद दिनुभयो ।