तमकुमारी रोकामगरलाई ओम शान्तिद्वारा आर्थिक सहयोग

पोखरा, जेठ ९ गते ।उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहेकी तमकुमारीलाई पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्र पोखराले १५ हजार नगद सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।

तमकुमारीका पति विकल रोकामगरलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्रका अध्यक्ष ब्रह्मकुमार मनिराज पोखरेलले अस्पतालमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । पोखरेलले रकम अभावका कारण उपचारमा कठिनाइ आएको समाचार अखबारमा पढेपछि मानवता अझै मरेको छैन् मानवीय सहयोग गरौं भन्ने ध्ययले आएको बताए ।

 

पोखरेललाई साथ दिन पोखरा १० का बेलायती भूपू सैनिक ८६ वर्षीय टेकबहादुर गुरुङ लौरो टेकेर तमकुमारीलाई भेट्न अस्पताल शैयामा पुगेपछि ७ हजार २ सय नगद दिदै भने ‘नातिनी हरेस नखानु छिट्टै होसमा आएस्, मेरो आशीर्वाद लागोस् ।’

 

खेतीपाती र घरगृहस्थी चलाइरहेकी २२ वर्षकी तमकुमारी गत बैशाख २६ गते मङ्गलबार घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते भएकी हुन् । तमकुमारी रोका मगर म्याग्दीको मालिका गाउँपालिका वडा नं. ३ पात्लेकी रैथाने वासिन्दा हुन् । पोखरामा उपचाररत तमकुमारीका ८ महिनाकी छोरी र ४ वर्षका छोरा अहिले गाउँमै छन् ।

 

पति विकल रोकामगरले उपचारको लागि २५ हजार जोहो गरेका थिए । एम्बुलेन्समा पोखरा ल्याउँदा १२ हजार सकियो । आमा चन्द्रकली पुनमगरले ३० हजार ऋण खोजेर छोरीको उपचारमा पहल गरिन । परिवारसँग भएको रकम सकिएपछि थप उपचारका लागि भौतारिएका विकललाई साथ दिइरहेकी छन् सामाजिक अभियन्ता तथा आफन्ती भीमसरा घर्तीमगरले । भीमसराको पहलमा स्थानीय व्यक्ति, संघसंस्था, मालिका गाउँपालिकाको कार्यालय र कतारमा रहेका नेपालीले सहयोग गर्दा ३ लाख ७ हजार २ सय ५ सङ्कलन भएको छ ।

 

भीरबाट लडेर अचेत भएकी तमकुमारीको टाउको, अनुहार, घाँटी र दाहिने हातमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि दरबाङ प्राथमिक स्वास्थ्य उपचार केन्द्र लगियो । दरबाङले उनलाई पोखरा रिफर ग¥यो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइसियु कक्षको अभाव भएपछि आमा चन्द्रकली पुनले गण्डकी मेडिकल कलेजमा ल्याइन तर उपचारका लागि पैसाको अभाव भएपछि फेरि क्षेत्रीय अस्पतालको सर्जरी वार्डमा सारियो । सहयोगी मनहरूले पैसा जुटाइ दिएपछि अहिले उनको जिएमसीमा उपचार भइरहेको छ । उनी अहिले मानसिक रोगको सिकार भएको कुरा पारिवारिक स्रोतले जनाएको छ । काखमा राखेर दुध खुवाउने ८ महिनाकी छोरीलाई समेत न त खोजेकी छन्, न त संझन सकेकी छन् ।

 

बाग्लुङ ताराखोलाका रमन घर्तीमगरले ३५ हजार ५ सय ५० रुपैयाँ सहयोग गर्दै भने मानसिक अवस्था बिग्रिएका कारण उनी बोलचाल गर्न असमर्थ भएकी छन् । उनलाई थप उपचारका लागि अर्को अस्पताल लैजानु पर्ने अवस्था छ । सबैको सहयोग पाएमा उनको उपचार सम्भव भएकाले मनकारी मनसँग परिवारले सहयोगको अपेक्षा गरेका छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...